बागमतीलाई हराउँदै साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

संवाददाता
८ फाल्गुन २०८१, बिहीबार २०:२६

साबिक विजेता मच्छिन्द्र क्लब सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो।

मच्छिन्द्रको जितमा खेलको ४३औँ मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरेका हुन्। बागमतीका खेलाडी हेमन्त भुजेलले गोललाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रकै शिशिर लेखी भए। उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्रले बाई पाएर सीधै क्वार्टरफाइनलमा स्थान पाएको थियो।

मच्छिन्द्र गत संस्करणको विजेता टोली हो। गत संस्करणमा एपिएफलाई हराउँदै मच्छिन्द्रले उपाधि जितेको थियो।

प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ। प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*