बागमती गोल्डकप : संकटालाई रोक्दै एपिएफ सेमिफाइनलमा
मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई रोक्दै एपिएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ।
जारी प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संकटालाई १–० गोल अन्तरले हरायो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एपिएफले जितका लागि दोस्रो हाफको ८३औँ मिनेटसम्म कुर्नुपर्यो।
एपिएफको जितमा सुजनकुमार पुलामीले गोल गरे। उनी खेलको ८१औँ मिनेटमा अनिष महर्जनको स्थानमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका थिए। बुधबारको खेलको म्यान अफ द म्याच एपिएफका मणिकुमार लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
जारी प्रतियोगितामा एपिएफले चितवनको हानामीलाई हराउँदै क्वार्टरफाइनलमा पुग्दा संकटाले बाई पाएर सीधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। गोल्डकपमा संकटा र एपिएफ यसअघिका संस्करणको उपविजेता टोलीहरू हुन्। एपिएफ छैटाैँ संस्करणमा मच्छिन्द्र क्लबसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो भने संकटा पाँचौँ संस्करणमा क्यामरुनको भुटनिज् स्पोर्टस्सँग पराजित हुँदै ट्रफी उचाल्नबाट वञ्चित भएको थियो।
१२ फागुनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित सिल्ड प्रदान गरिनेछ।














