बागमती गोल्डकपः गोलरक्षक एन्जलको उत्कृष्ट प्रदर्शनमा एपिएफको जित
छैटौँ संस्करणमा उपविजेतामा सीमित बनेको सशस्त्रको एपिएफ क्लबले मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। गोलरक्षक एन्जल श्रेष्ठ नायक बन्दा एपिएफले सातौँ संस्करणको प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
आइतबारको खेलमा एपिएफले चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हरायो। एपिएफका गोलरक्षक एन्जलले टाइब्रेकरमा हानमीका खेलाडीको दुईवटा प्रहारलाई रोक्न सफल भए। उनले हानामीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार रोकेका थिए।
यस्तै, हानामीका विदेश खेलाडी बफरको प्रहार भने बाहिरिएको थियो। एपिएफको जितका लागि सुमन श्रेष्ठ, दीपेश धिमाल र मनीकुमार लामाले गोल गरे। पराजित हानामीका अमन लामाको प्रहार मात्रै गोलमा परिणत भएको थियो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपिएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे। खेलको ६४औँ मिनेटमा एपिएफका प्रदीप लामा रातो कार्ड पाएर बाहिरिए पनि एपिएफले निर्धारित समयसम्म खेल आफ्नो पक्षमा पारेको थियो।
आगामी १२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।














