आर्मीलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको सेमिफाइनलमा  

संवाददाता
५ फाल्गुन २०८१, सोमबार १८:४९

चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमतीमा जारी ७औँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो। चर्च ब्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम, सुमित श्रेष्ठ, दीपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे ।

यस्तै, आर्मीका लागि विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पीजंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च ब्वाइजका गोलरक्षक टेकेन्द्रसिं थापाले रोके ।
खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, उपाध्यक्ष फणिन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलगायतले ट्रफी र नगद प्रदान गरे।

आगामी १२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*