बागमती गोल्डकपः थ्री स्टार सेमिफाइनलमा
७औँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो।
थ्री स्टारको जितका लागि सुशील राई, नवीन लामा, विदेशी खेलाडीहरू फोफना र एलेक्सले गोल गरे। चारै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो। पहिलो हाफमा आफूलाई सम्हाल्न नसक्दा हिमालयनले चार गोल मात्र खाएन प्रतियोगिताबाटै बाहिरिएको छ।
थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधि जितेको थियो।
यस्तै, तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो। मंगलबारको खेलको म्यान अफ द म्याच थ्री स्टारका नवीन लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
आगामी १२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।














