हेटौँडा हुँदै गोरु तस्करी, प्रहरीले सहयोग नगर्दा पथलैयाबाट ट्रक नियन्त्रण

संवाददाता
५ फाल्गुन २०८१, सोमबार १८:५८

आइतबार साँझ ६ः३० बजेको समयमा हेटौँडा हुँदै गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।हेटौँडा– १५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो । अबेर राति ११ बजे नियन्त्रणमा लिइएको गोरुसहितको ट्रक हेटौँडा ल्याइएको उनले बताए ।

आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरुसहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा बा.प्र. ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्दै गरेको फेला पर्‍यो । सोही ट्रकमा २५ वटा गोरु लोड गरिएको थियो ।

ट्रक रोकेको देखेपछि प्रमुख ठाकुरले प्रहरीलाई जानकारी गराए र ट्रक नियन्त्रणमा लिन आग्रह गरे । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन । चितवन हुँदै हेटौँडा आएको ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयाँलसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई जानकारी गराएको प्रमुख ठाकुरले बताए ।

‘ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज ‘सइ साप’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सापलाई पनि जानकारी गराएँ । तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइदिए,’ उनले भने । रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछिपछि लागे । रातोमाटेमा प्रहरीको सहयोग नपाएपछि प्रमुख ठाकुर हेटौँडा– १५ नयाँबस्तीमा रहेको सशस्त्र प्रहरीको राजमार्ग सुरक्षा चेकपोस्टमा पुगे ।

ड्युटीमा रहेका सशस्त्रका असइलाई जानकारी गराए । त्यस समयसम्म ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीको मोटरसाइकलसहितको टिमले स्कर्टिङ गरेर चुरियामाई नाका कटाइदिएको उनी बताउँछन् । जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोषविक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय हेटौँडालाई जिम्मा लगाएको उनले बताए ।
सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिएलगत्तै ट्रकका चालक र गोरु चरुवाहरू फरार भए । करिब दुई घण्टासम्म ट्रकचालक नआएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइएको उनले बताए ।

ट्रक नियन्त्रणमा लिएर कागजातहरू छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरेनरी प्रमाणपत्र गलत भेटिएको थियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको उनले बताए । भेटेरेनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ । सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरेनरी प्रमाणपत्र जारी गरेका छन् ।

छानबिनका क्रममा ती गोरु सर्लाहीकाे नवलपुरमा लगेर दुई दिन राख्ने र सोपश्चात् अर्को ट्रकमा हालेर झापा पठाउने योजना रहेको प्रमुख ठाकुरले बताए । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको थियो ।

प्रतिगोरु पाँच हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए । सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाईगोरु ढुवानीबापत उक्त शुल्क प्रतिगोटा दुई सय रुपैयाँ निर्धारण गरेको छ ।

प्रहरीको असहयोगमा निरीह कर्मचारी

ट्रक नियन्त्रणमा लिन हेटौँडादेखि पथलैयासम्म पशु सेवा कार्यालयका टोलीलाई प्रहरीको सहयोग नमिल्दा निरीह बन्नुपर्‍याे । सशस्त्र प्रहरीले ट्रक रोकेर कागजपत्र नियन्त्रणमा लिएलगत्तै ट्रकचालक फरार भएका थिए । दुई घण्टाभन्दा बढी समय सशस्त्र प्रहरीले चालकलाई सम्पर्क गर्दा आफू चौकीमा रहेको बताए । तर, उनी ट्रकको छेउछाउ देखा परेनन् । सँगै रहेका जनपथका सादा पोसाकका प्रहरीले सहयोग गरेनन्।

प्रहरीको सहयोग नपाएपछि चालक फोन अफ गरेर सम्पर्कविहीन बने । चौकीमा रहेको भनिएका चालकलाई प्रहरीले खोज्नेसम्मको चेष्टा गरेन । अन्ततः राति ९ बजे हेटौँडाबाट चालक बोलाएर ट्रकलाई पथलैयाबाट हेटौँडा ल्याइएको थियो ।

हेटौँडा ल्याएको ट्रकको सुरक्षामा समेत समस्या देखियो । ट्रक र गोरुको सुरक्षाका लागि कार्यालय प्रमुख ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआइजी कृष्णहरि शर्मालाई आग्रह गरे । तर, स्थान नभएकाले आफूहरूले सहयोग गर्न नसक्ने जवाफ दिएको ठाकुरले बताए । कार्यालयले नै सुरक्षा र व्यवस्था गर्न सुझाएपछि उक्त ट्रक नयाँ बस्तीको सशस्त्रको चेकपोइन्टमा नै राखिएको उनले बताए ।

गोरु तस्करीबारे जानकारी छैन : फुयाँल

रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलका अनुसार गोरु तस्करीबारे जानकारी नरेहको बताए । गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट आफलाई कुनै जानकारी नरहेको उनले बताए । आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको र चौकीमा सामान्य चेकजाँचपछि ट्रक छोडिएको उनले बताए । प्रहरीको संरक्षणमा नाका कटाउने भन्ने विषय गलत भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*