४ गतेसम्म बागमतीमा दुई लाखभन्दा धेरै किशोरीले एचपिभी खोप लगाए
बागमती प्रदेशका १३ जिल्लामा दुई लाखभन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ गते आइतबारसम्ममा प्रदेशका दुई लाख ४६ हजार ८३५ जना किशोरीले एचपिभी खोप लगाएका हुन् ।
६ फागुनसम्ममा बागमती प्रदेशका १३ जिल्लाका दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८२.६ प्रतिशत अर्थात् दुई लाख ४६ हजार ८३५ जना किशोरीले एचपिभी खोप लगाएका छन् ।
१३ जिल्लामध्ये ४ गतेसम्म लक्ष्यको सबैभन्दा बढी नुवाकोट र दोलखामा ९९.४ प्रतिशतले खोप लगाएका छन् । मन्त्रालयका अनुसार दोलखामा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ४ गतेसम्म ११ हजार १०९ जना किशोरीले खोप लगाइसकेका छन् । यस्तै, दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४७८ जनाले खोप लगाएका छन् ।
यसैगरी, रामेछापका सात हजार ७८ जना किशोरीलाई खोल लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५० जना अर्थात् ९८.२ प्रतिशत, सिन्धुपाल्चोकका १० हजार ४६८ जनामध्ये १० हजार ११४ जना अर्थात् ९६.६ प्रतिशत, सिन्धुलीका १४ हजार ६२२ जनामध्ये १४ हजार ५८ जना अर्थात् ९६.१ प्रतिशत, बागमती प्रदेशमा सबैभन्दा कम रसुवाका एक हजार ६८६ जनामा एक हजार ६२० जना अर्थात् ९६.१ प्रतिशतलाई एचपिभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार २३२ जना अर्थात् ९४.५ प्रतिश, धादिङका १४ हजार ५७३ जनामा १२ हजार ८८५ जना अर्थात ८८.४ प्रतिशत, मकवानपुरका २२ हजार ७१३ जनामा १९ हजार ८५७ जना अर्थात ८७.४ प्रतिशत, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ३२९ अर्थात ८३.४ प्रतिशत किशोरीले खोप लगाएका छन्।
यस्तै, भक्तपुरका १९ हजार २९५ जनामा १५ हजार ९४७ अर्थात ८२.६ प्रतिशत, प्रदेशमा सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जनामा ८२ हजार ७४४ जना अर्थात ७४.५ प्रतिशत र ललितपुरका ३१ हजार ९८५ जनामा २३ हजार ५१९ जना अर्थात ७३.५ प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् ।
गएको माघ २२ गतेबाट सुरु भएको अभियान ६ फागुनसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइएको छ ।














