पाँच किलोमिटर दौडको उपाधि ओखलढुंगाका कार्कीले जिते

संवाददाता
१ फाल्गुन २०८१, बिहीबार १७:४०

३०औँ जनयुद्ध दिवसको अवसरमा हेटौँडामा आयोजित खुला दौड प्रतियोगिताको उपाधि ओखलढुंगाका टंक कार्कीले जितेका छन्। पाँच किलोमिटर दूरी १५ मिनेट ५२ सेकेन्ड ३६ मिलिसेकेन्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन्।

पूर्वजनमुक्ति सेना नेपाल मकवानपुर, वाइसिएल नेपाल, अखिल क्रान्तिकारी र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा आयोजित दौड प्रतियोगितामा १५ मिनेट ५३ सेकेन्ड १२ मिलिसेकेन्डमा पूरा गरेका खोटाङ जिल्लाका गजेन्द्र राई द्वितीय र १६ मिनेट २ सेकेन्ड ७ मिलिसेकेन्डमा पूरा गरेका सिन्धुली जिल्लाका राज तामाङ तृतीय भए।

दौडमा प्रथम, द्वितीय र तृतीय भएका धावकहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता धावकहरूलाई बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रका नेतृकुमारी मोक्तानले पुरस्कार प्रदान गरिन्।

१६० जना सहभागी खुला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकाबाहेकका अन्य सातजनालाई हौसलास्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। बुद्धचोकबाट सुरु भएको दौड कान्ति लोकपथ, लक्ष्मी स्कुल, थाहा चोक, शीतलमहल हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो।

प्रमुख अतिथि मोक्तानले गणतन्त्र नेपालको स्थापना, समानुपातिक समावेशी, महिला अधिकार र न्यायमूलक समाज स्थापनामा १० वर्षे जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको दाबी गरिन्।

कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य सर्केश घलान (मधु), पार्टी सचिव वीरबहादुर घलान (ज्वाला) पूर्वजनमुक्ति सेना नेपाल मकवानपुर अध्यक्ष सुनम पाख्रिनलगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*