निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले चलाएको गोली लागेर मर्योे जंगली हात्ती
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीबाटै मकुना नामक एउटा जंगली हात्ती मारिएको छ । निकुञ्ज प्रशासनले भने निकुञ्जका हात्तीमा सवार गस्ती टोलीमाथि नै जंगली हात्तीले आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि विकल्परहीत अवस्थामा गोली चलाउनुपरेको दाबी गरेको छ ।
जंगली हात्तीले स्विपङ गरेर निकुञ्जको कोर एरियामा पठाउने क्रममा बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा घटना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । ‘लामिताल क्षेत्रमा जंगली हात्ती (मकुना) अकस्मात् फेला परेर घरपालुवा हात्ती (चुरेगज) लाई सीधै आक्रमण गर्न आयो । दुई राउन्ड वार्निङ हवाई फायर गर्दा पनि हात्ती भागेन,’ मगरले भने, ‘उल्टै सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेन्जर श्याम तामाङ हात्तीबाट खस्नुभयो । ज्यानको सुरक्षा गर्न फेरि तीन राउन्ड फायर गर्दा पनि जंगली हात्ती फेरि फर्किएर आक्रमण गर्न आएपछि गोली चलाउनुपरेको हो ।’
हात्तीको दाहिनेपट्टि घाँटीमा गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ अनुसार निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले आत्मसुरक्षाका लागि गोली चलाउन पाउँछ । मकुना गत असोजमा सौराहाआसपासको क्षेत्रमा गाउँबस्तीमा पसेको थियो । कोर एरियामा पठाउन निकुञ्ज सौराहा सेक्टरका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीले ५–६ वटा हात्तीबाट दैनिक रूपमा स्विप गर्ने र कोर इलाकातर्फ धपाउने काम गरिरहेको थियो ।
मन्त्रालयले बनायो छानबिन समिति
जंगली हात्तीमाथि गोली चलाइएको विषय र आगामी दिनमा अपनाइनुपर्ने रणनीति तय गर्न वन तथा वातावरण मन्त्रालयले छानबिन समिति बनाएको छ ।
सहसचिव डा. बुद्धिसागर पौडेलको नेतृत्वमा पाँचसदस्यीय समिति बनाइएको सचिव डा. दीपक खरालले बताए । ‘समितिले सात दिनभित्र घटनास्थलको यथार्थ विवरण, विश्लेषण गर्नेछ, आगामी दिनमा सुधार गर्नुपर्ने विषय पनि समेट्ने कार्यादेश दिएका छौँ,’ सचिव खरालले भने । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, नेपाली सेनाका प्रतिनिधि र पशु चिकित्सक छन् । सचिव खरालले चितवनमा जनधनको क्षति हुने अवस्था आएपछि आत्मरक्षाका लागि गोली चलेको र आगामी दिनमा यस्तो अवस्था सिर्जना नहोस् भनेर पनि समितिले अध्ययन गर्ने बताए ।














