अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छः देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारले मुद्दाको संख्या मात्र बढाउने काम बन्द गर्नुपर्ने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा हेटौँडा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना भ्रष्टाचारका घटनालाई छानबिन र कारबाही गरी मुद्दाको संख्या मात्र बढाउने नभई ठुला र सबै प्रकारका भ्रष्टाचारी माछाहरू समात्न सक्नुपर्ने बताए।
अख्तियारले जनताको निराशा चिर्दै भ्रष्टाचारको विरुद्ध खरो उत्रिन सक्नुपर्ने उनको भनाइ छ। बेइमानीका विरुद्धको कदम चाल्ने विषयमा खुट्टा नकमाउन उनले अख्तियारलाई आग्रह गरे।
‘भ्रष्टाचार जघन्य अपराध हो। यसको निन्दा कुनै शब्दमा लिन सकिँदैन। आफ्नो अख्तियारीलाई दुरुपयोग गरी देश, जनता र सुशासनको विरुद्ध नैतिकता र कानुनविपरीत जाने जोकोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रिया अघि बढाउनुपर्दछ,’ उनले भने।
प्रदेश प्रमुख देवकोटा चुनौती चिर्दै अघि बढ्दा खास सफलता प्राप्त हुने उनले बताए। अख्तियारको प्रगति झिनो देखिएको र उक्त विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार कार्यसम्पादनमा देखिएको सुस्तताले युवाहरूमा निराशा बढाइरहेको छ। राज्यका निकायहरूलाई दोषारोपण गरेर ढिलासुस्ती गर्ने छुट नरहेको र तीव्र रूपमा गतिशील विश्वको लय समाउन सबैले परिस्कृत हुनुपर्ने उनले बताए।
भ्रष्टाचार हुन नदिन इमान्दारिता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको धारणा छ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार देश विकास र समृद्धिको बाधक भएको बताए।
भ्रष्टाचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उनले बताए। पछिल्लो समय देशमा नीतिगत भ्रष्टाचार र कामचोरी बढेको उनको भनाइ छ।
भ्रष्टाचारको अंक दिन प्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत रहेको उनले उल्लेख गरे।
प्रदेश सरकार सुशासन पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको उनले बताए। मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको बताए। नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकार जिम्मेवार ढंगबाट अघि बढेको उनको दाबी छ।














