बागमतीका करिब तीन लाख किशोरीलाई एचपिभी खोप लगाइने 

संवाददाता
२१ माघ २०८१, सोमबार १९:१४

२२ माघदेखि सुरु हुने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशका दुई लाख ९८ हजार ३०५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्र झाका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २२ माघदेखि ६ फागुनसम्म प्रदेशका १३ जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीिभीविरुद्धको खोप दिइने भएको हो । उनले प्रदेशका १३ जिल्लाका विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप दिन लागिएको बताए ।

निर्देशक झाका अनुसार विद्यालय र खोप केन्द्रहरूबाट उक्त खोप दिइनेछ । निर्देशक झाले सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जना र सबैभन्दा कम रसुवामा एक हजार ६८६ जना किशोरीलाई उक्त खोप लगाइने जानकारी दिए।

यसैगरी, ललितपुरका ३१ हजार ९८५, चितवनका ३१ हजार ५७०, मकवानपुरका २२ हजार ७१३, भक्तपुरका १९ हजार २९५, काभ्रेका १६ हजार ११३, सिन्धुलीका १४ हजार ६२२, धादिङका १३ हजार ९७३, नुवाकोटका ११ हजार १७८,  सिन्धुपाल्चोकका १० हजार ४६८, रामेछापका ७ हजार ७८ र दोलखाका ६ हजार ५२० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने छ । उनका अनुसार खोप अभियान सञ्चालनका लागि आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइने भएको छ ।

निर्देशक झाले खोप विद्यालयका ६ कक्षादेखि १० कक्षासम्मका दुई लाख ७५ हजार ७१ जना किशोरी तथा विद्यालयबाहिरका २३ हजार २३४ जना किशोरीलाई लगाइने लक्ष्य रहेको बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको भने एक हजार तीन सय महिलाको निधन हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*