दसौँ राष्ट्रिय खेलकुद : बागमती प्रदेशले तयारीका लागि पाँच करोड उपलब्ध गराउने 

संवाददाता
१६ माघ २०८१, बुधबार १४:१७

बागमती प्रदेश सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्लाई पाँच करोड उपलब्ध गराउने भएको छ । कर्णालीको सुर्खेतमा आगामी २५ देखि ३० चैतसम्म दसौँ राष्ट्रिय खेलकुद हुँदै छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले टिम तयारीका लागि रकम उपलब्ध गराउने निर्णय गरेकोे मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले जानकारी दिए । परिषद्ले खेलकुद मन्त्रालयसँग सात करोड ५० लाख रुपैयाँ बजेट माग गरेको थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले पाँच करोड रुपैयाँ बजेट उपलब्ध गराउने तयारी भएको मैनालीले बताए ।

‘परिषद्लाई आवश्यक बजेट उपलब्ध गराउने विषयमा मन्त्रालयबाट औपचारिक निर्णय हुन बाँकी छ,’ मैनालीले भने, ‘यसबाहेक थप बजेट उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइएको छ ।’ खेलाडीदेखि टोली तयारीको सम्बन्धमा प्रदेश सरकारले तीन करोड ७५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुद विकास परिषद्लाई आठ करोड ७५ लाख रुपैयाँ उपलब्ध हुने सचिव मैनालीले बताए । ‘सरकारको आर्थिक अवस्था र राजस्व संकलनको अवस्थाका आधारमा बजेट व्यवस्थापन गरिएको हो । विपत्का कारण भएका क्षति व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले परिषद्ले माग गरेअनुसार बजेट दिन नसकिएको सचिव मैनालीले बताए ।

युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ३६ खेलका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको तीन करोड ७४ लाख रुपैयाँ र थप बजेट पाँच करोड रुपैयाँले समेत अपुग हुने बताए । ‘प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट ३६ खेलका खेलाडी छनोट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा–सुविधामा खर्च हुनेछ,’ मन्त्री महर्जनले भने ।

१३ जिल्लामा छनोट
प्रतियोगितामा सहभागी हुन बागमतीमा १३ जिल्लाबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोट चरणमा १३ सय खेलाडीलाई छनोट गरिने खेलकुदमन्त्री महर्जनले बताए । ‘प्रदेशका १३ जिल्लामा छनोट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ, सुरुवातमा १३ सय खेलाडीलाई क्लोज क्याम्पमा राखिनेछ,’ उनले भने ।

बागमतीबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते र गल्फमा प्रतिस्पर्धा गर्नेछ । यसैगरी, बागमतीका खेलाडीले जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, आइटिएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, खो–खो, प्याराग्लाइडिङ, रग्बी, सेपाक ताक्रो, भलिबल, कुस्ती, उसु, सफ्टटेनिसलगायत खेलमा भाग लिनेछन् ।

गत वर्ष मात्रै अन्तरप्रदेश खेलकुद सञ्चालनका लागि प्रदेश सरकारले मन्त्रालयलाई नौ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*