१२ पास र २० वर्ष पार भएपछि विवाह गर्ने नाै चेली सम्मानित
मकवानपुरको विकट कैलाश गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। कम्तीमा दश जोड दुई (१०+२) पास गरी २० वर्ष उमेर पार भएपछि मात्र विवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गर्दै कार्यक्रमलाई निरन्तरता दिएको हो।
गाउँपालिकाले मंगलबार नाैजना चेलीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रतिव्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।
सम्मानित हुनेहरूमा वडा नं. ९ का अम्बिका अर्याल, अनिता रुम्बा, कल्पनामाया घलान, देवकी बर्तौला र सविना रुम्बा, वडा नं ६ की हिरा मुक्तान, वडा नं १० का लक्ष्मी ब्लोन र अबिगेल प्रजा तथा वडा नम्बर ५ की शान्ति तितुङ रहेका छन्।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए। उनले देशभरका स्थानीय तहहरूमै यो कार्यक्रम पृथक भएको बताए।
गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको बताउँदै उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ।
दुई करोड ३० लाख थप अनुमानसहित कैलाशको बजेट संशोधन
कैलाश गाउँपालिकाले दुई करोड ३० लाख रुपैयाँ थप अनुमानसहित चालू आर्थिक वर्ष ०८१/८२ को बजेट संशोधन गरेको छ। चालू आवमा २७ करोड ३७ लाख रुपैयाँको बजेट बनाएको गाउँपालिकाले १५औँ गाउँसभाबाट दुई करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरी २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो।
गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेस गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित भएको हो। गाउँसभाबाट चालूतर्फको आठवटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन्। पुँजीगततर्फ ३५ करोड २० लाख पाँच हजार रुपैयाँ बजेट थप गरिएको छ।
यसैगरी, गाउँसभाले चालूतर्फ २५ वटा योजनाको रकमान्तर गरेको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तर गरेको छ। गाउँसभाबाट खानेपानी सरसफाइ ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ। तीनवटा ऐन र २७ वटा कार्यविधि संशोधन गरिएको छ।














