बागमती प्रदेशमा सीटीइभीटीका २ संरचना

संवाददाता
५ माघ २०८१, शनिबार १३:३१

संघीयता अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी)को संरचना निर्माण नभएपछि बागमती प्रदेशमा दोहोरो संरचना देखिएको छ । संघीय सरकार अन्तर्गतको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् बागमती प्रदेशको कार्यालय हेटौंडामा खडा गरिएको छ भने सोही प्रकृतिको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् बागमती प्रदेश सरकारले खडा गरेको छ । योसँगै प्रदेशमा सीटीइभीटीका २ वटा संरचना खडा भएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश सीटीइभीटी खोलेर काम अघि बढाइएको छ । मन्त्रालयले प्रदेश सीटीइभीटीको कार्यालय स्थापना गरेर कार्यकारी निर्देशकसमेत नियुक्त गरिसकेको छ । अधिकृत स्तरदेखि सहायकसम्मका १३ जना कर्मचारीको दरबन्दी कायम गरी नुवाकोटकी शान्ति लामालाई कार्यकारी निर्देशकमा राजनीतिक नियुक्ति गरेको हो ।

प्रदेश सरकारको गत पुस ११ को मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा लामालाई नियुक्त गरेको थियो भने प्रदेश सीटीइभीटी खोल्ने विषय गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । बैठकले प्रदेशमा सीटीइभीटी कार्यालय खोल्ने गरी कार्यालय, दरबन्दी तथा कार्य विवरण स्वीकृत गर्ने निर्णय गरेको थियो । बैठकले सीटीइभीटीको कार्यालय स्थापना हुने स्थान, संगठन तालिका, दरबन्दी तेरिज, कार्य विवरण, छाप र साइन बोर्ड स्वीकृत गरेको थियो ।

संघ र प्रदेशको दोहोरो संरचना

संघीय सरकारलाई काउन्टर गर्दै सीटीइभीटी प्रदेश सरकार मातहत रहने निर्णय गरेसँगै बागमती प्रदेशमा राज्यको दोहोरो संरचना कायम भएको छ । संघीय सरकार अन्तर्गतको सीटीइभीटीको प्रदेश कार्यालय हेटौंडामा रहेका बखत प्रदेश सरकारले आफ्नै सीटीइभीटी खोलेपछि दोहोरो संरचना निर्माण भएको हो ।

प्रदेश सरकारले स्थापना गरेको सीटीइभीटीलाई संरचनागत चुनौती हुनेसमेत देखिएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने विभिन्न सीपमूलक तामिल र सीप परीक्षणका लागि ठोस निर्णय नभएकाले चुनौती देखिएको हो । प्रदेश सरकारले स्थापना गरेको सीटीइभीटीलाई आंगिक क्याम्पसहरुको संरचनागत सञ्जाल निर्माण गर्नुपर्ने चुनौती छ भने सीप परीक्षणका लागि संघीय सरकारको सीटीइभीटीलाई नै गुहार्नुपर्ने बाध्यता रहेको छ । प्रदेश सरकार मातहत नै सीप परीक्षणको संरचना नभएकाले थप चुनौती हुने देखिन्छ ।

हेटैंडामा यसअघि नै संघीय सरकार मातहतको सीटीइभीटी कार्यालय कायम रहेको छ । संघीयता कार्यान्वयनको चरणमा अघि बढ्दा हेटौंडा–११ मा कार्यालय स्थापना गरी काम गरिहरेको उक्त कार्यालय प्रदेश सरकार मातहत हस्तान्तरण हुनुपर्ने हो । तर, संघीय सरकारले कानुनी र प्रक्रियागतरुपमा हस्तान्तरण नगर्दा प्रदेश सरकारले सीटीइभीटी गठन गर्नुपरेको प्रदेश व्यावसायिक तथा सीप विकास तालिम परिषद्का प्रमुख देवनारायण चौधरीले जानकारी दिए ।

संविधानमा सीटीइभीटी प्रदेश मातहत रहने व्यवस्था रहेको छ । तर, कानुन नबन्दा हालसम्म सो अधिकार प्राप्त हुन सकेको छैन । संघीय सीटीइभीटीले पनि हेटौंडामा कार्यालय राखेर काम गरिरहेको छ । सीटीइभीटीले प्रदेशमा हस्तान्तरणमाको काम नगर्दा प्रदेश सरकारले नयाँ ढंगबाट अघि बढेको प्रमुख चौधरीले बताए ।

‘सीटीइभीटी संविधानतः प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्ने भए पनि प्राप्त हुन नसकेको र सो कार्यालयको काम पनि प्रभावकारी नभएकाले प्रदेश सरकारले नै कार्यान्वयन गरेर अघि बढ्ने तयारी गरेको हो’, प्रमुख चौधरीले भन्नुभयो– ‘हेटौंडामा रहेको सीटीइभीटी कार्यालय र प्रदेश सरकारले स्थापना गर्ने संरचना फरक हो । संविधानतः हस्तान्तरण भएको खण्डमा भविष्यमा एकीकृतरुपमा मर्ज गरेर अघि बढ्न सकिन्छ । तत्कालका लागि फरक संरचनाको रुपमा अघि बढाउने तयारी छ ।’

उनका अनुसार प्रदेश सरकारसँग केही संरचनाहरु निर्माण नहुँदा संघीय सीटीइभीटीमा भर पर्नुपर्ने अवस्था रहेको छ । प्रदेश सरकारसँग पाठ्यक्रम निर्माण, तालिम सञ्चालन गर्ने विद्यालय, सीप परीक्षणलगायतको संरचनाहरु नरहेको उनले बताए। प्रदेश सरकारले गर्नुपर्ने कानुनी व्यवस्था भए पनि हाल ती कार्य संघीय सीटीइभीटीको हेटौंडास्थित प्रदेश कार्यालयबाट भइरहेको उनले बताए । संघीय सरकार अन्तर्गतको प्रदेश सीटीइभीटीले हाल १३ जिल्लाका १८ आंगिक क्याम्पसहरुमा सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको छ । उक्त क्याम्पसहरुमा १७ विधामा सीपमूलक तालिम सञ्चालन भइरहेको छ । त्यसका अतिरिक्त छोटो अवधि ९३९० घण्टा०को तालिमहरु समेत सञ्चालन भइरहेको छ भने कार्यालयले सीप परीक्षण, सीप परीक्षालगायतका कामहरु गरिरहेको छ ।

संघीय सरकारको परियोजना हेर्दै प्रदेश सीटीइभीटी

प्रदेश सरकारको संघीय सरकारको २ परियोजना र प्रदेश सरकारको व्यावसायिक सीप विकास तालिम सञ्चालनको लागि प्रदेश सीटीइभीटीले काम गरिरहेको छ । संघीय सरकारको सशर्त अनुदानमा युवाहरुका लागि गुणस्तरीय प्रविधिक शिक्षा र तालिम (क्वालिटी) परियोजना र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना कार्यान्वयनको काम प्रदेश सीटीइभीटीले थालेको प्रमुख चौधरीले बताए । उनका अनुसार विगतमा मन्त्रालयबाट नै हेर्दै आएको उक्त कार्यक्रमको प्रभावकारिताका लागि सीटीइभीटी गठन भएसँगै काम थालेको हो । उक्त कार्यक्रमका लागि विद्यालय छनौटको काम अघि बढाइएको उनको भनाइ छ ।

मन्त्रालय अन्तर्गतका कार्यालयबाट हुँदै आएको सीपमूलक तालिमहरुलाई एकीकृतरुपमा सञ्चालन गर्ने तयारी रहेको प्रमुख चौधरीले बताए। छोटो अवधिको तालिम तथा अन्य व्यावसायिक सीपमूलक तालिम र सीप परीक्षण परीक्षाका क्षेत्रमा सीटीइभीटीबाट काम गर्ने तयारी भएको उनको भनाइ छ । १३ विधाका ३९० घण्टे सीपमूलक तालिम सञ्चालनका लागि प्रदेश सरकारले १२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*