६ महिनामा एक लाखभन्दा बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज

संवाददाता
५ माघ २०८१, शनिबार १३:२३

चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा एक लाख १० हजार ३४५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण गरेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार १०३ नेपालीले भ्रमण गरेका छन्। दक्षिण एसियाली मुलुकका १० हजार ८५० र तेस्रो मुलुकका ४६ हजार ३९२ जनाले निकुञ्ज भ्रमण गरेका छन्। पर्यटकबाट रु. १३ करोड एक लाख ४६ हजार राजस्व संकलन भएको उनले बताए।

निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुंगी हेर्न पर्यटक आउने गरेका छन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुंगा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्छन्। चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो।

यसैबिच, बिहीबार निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जको ध्रुव पोस्टनजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो।

उक्त गैँडा प्राकृतिक कारण मरेको आशंका गरिएको छ। मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन्। जसमध्ये पाँच भाले, पाँच पोथी र लिंग पहिचान नभएका तीन छन्। मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*